खोटाङ । जिल्ला चुनावी कमाण्डरसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) खोटाङका अध्यक्ष श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जसपा भित्र हलचल मच्चिएको छ।
जसपा खोटाङका अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह श्रम संस्कृति पार्टीमा प्रवेश गरेको हो। प्रवेश गर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष प्रिथीराज राईलगायत रहेका छन्।
श्रम संस्कृति पार्टीमा प्रवेश गरेका निर्मल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडाध्यक्ष हुन्। यस्तै, मुगाधन राई लगातार दुई पटक वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन्।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चुनावी अभियान चलिरहेकै बेला जिल्ला अध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि जसपाका प्रत्यक्ष उम्मेदवार राकेश राई अप्ठेरोमा परेका छन्। श्रम संस्कृति पार्टीले खोटाङमा आरेन राईलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ।
जिल्ला अध्यक्षले पार्टी छाडेपछि जसपाले उपाध्यक्ष गुरुराज राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ।
यसैबीच, नेपाली कांग्रेस खोटाङका संगठन विभाग प्रमुख विष्णुराज राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण पाँच वर्षका लागि निष्कासनमा परेका विष्णुराजले अन्ततः श्रम संस्कृति पार्टी रोजेका हुन्।
पहिचान आन्दोलनमा सक्रिय रहँदै आएका निर्मल र विष्णुराज यसअघि फरक–फरक दलमा भए पनि अहिले एउटै राजनीतिक मोर्चामा उभिएका छन्। कोशी प्रदेशको नाम खारेज गरी ‘किरात प्रदेश’ नामाकरण गर्न माग गरिएको आन्दोलनका क्रममा निर्मल किरात फोर्सका खोटाङ संयोजक थिए। किरात फोर्सलाई पूर्व नेपाली सेनाका धनीराम नछुङले ‘रोलकल’ गराएका थिए। नछुङ यसअघि नै श्रम संस्कृति पार्टीमा प्रवेश गरी सचिवको जिम्मेवारीमा पुगेका छन्।
श्रम संस्कृति पार्टी हर्क साम्पाङ को नेतृत्वमा गठन भएको दल हो।




















