काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान सभामुख नेकपा एमालेका झापा २ का उम्मेदवार देवराज घिमिरेलाई लक्षित गर्दै जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भएको टिप्पणी गरेका छन्।
झापामा आयोजित कार्यक्रममा लामिछानेले, “जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ?” भनी प्रश्न गरेका थिए।
लामिछानेको अभिव्यक्तिप्रति घिमिरेले प्रेस नोट जारी गर्दै खण्डन गरेका छन् । उनले बिर्तामोडमा लामिछानेले आफूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासमा उम्मेदवार वा दलले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने बताए। व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली चुनावी प्रतिस्पर्धामा दीर्घकालीन रूपमा टिक्न नसक्ने उनको भनाइ छ।
घिमिरेले संसदमा सबै सदस्यलाई समान अवसर दिन समय व्यवस्थापन गरिने स्पष्ट पार्दै माइक काट्ने विषय सभामुखको व्यक्तिगत निर्णय नभई संसदको नियमावली र पूर्वनिर्धारित समयअनुसार हुने बताएका छन्। “म सभामुख हुँदा मात्र होइन, उपसभामुख वा सभाको अध्यक्षता गरिरहेका अन्य माननीयको पालामा पनि माइक काटिएको उदाहरण संसदको वेबसाइटमै देख्न सकिन्छ,” उनले उल्लेख गरेका छन्।
लामिछानेले घृणा फैलाएको आरोप लगाउँदै घिमिरेले खेद व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’
घिमिरे झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनी विघटित प्रतिनिधिसभामा सभामुखको जिम्मेवारीमा थिए।



















