काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले हालसम्म निर्वाचनलाई प्रभावित गर्ने कुनै गम्भीर सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ।
मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति को बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको र चुनौती देखिन नसकेको ठहर गरेको हो। बैठकमा सुरक्षा निकायका प्रमुखहरूले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।
बैठकमा सम्भावित सुरक्षा चुनौती र त्यसको समाधानका उपायबारे छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले बताए। उनका अनुसार सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा मजबुत बनाइएको र राजनीतिक दलहरूले आफ्ना गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन गर्न तथा मतदाताले निर्भयपूर्वक मतदान गर्न सक्ने अनुकूल वातावरण रहेको जानकारी गराएका छन्।
प्रवक्ता भट्टराईले केही स्थानमा भएका घटनामा स्थानीय प्रशासनको सक्रियताका कारण अप्रिय अवस्था आउन नपाएको उल्लेख गरे। साथै, देशभरको माहोल क्रमशः निर्वाचनमय बन्दै गएको पनि उनले बताए।
उनले मतदातालाई सहज रूपमा घर जान–फर्कन सुविधा होस् भन्ने उद्देश्यले आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको जानकारी दिँदै, यसले मतदानमा जनसहभागिता अझ बढ्ने विश्वास व्यक्त गरे।




















