वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु हटाएको छ। सोमबार साढे ४ बजेदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा भने जारी रहनेछ।
प्रशासनले आज साँझ ६ बजेदेखि मंगलबार विहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने बताएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ।
वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकसम्म निषेधाज्ञा जारी रहने विज्ञप्तिमा उल्लेख छ
यसअघि जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु जारी गरिएको थियो। दुई समुदायबीच द्वन्द्व हुने अवस्था आएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। आजै बसेको सर्वपक्षीय बैठकले तीन बुँदे सहमति भएको थियो ।
बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेशराज सुबेदी, सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, राजनीतिक दलका अगुवा, हिन्दु र मुस्लिम समुदायका अगुवा, सद्भाव समितिका सदस्यलगायतकाको सहभागिता थियो ।




















