काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ।
मंगलबार गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए।



















