काठमाडौं । धादिङमा बस दुर्घटना हुँदा ३ जना विदेशी नागरिकको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले गएराति धादिङमा भएको बस दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये ३ जना विदेशी नागरिक रहेको जानकारी दिए। यद्यपी मृतक कुन देशका नागरिक हुन् भन्ने खुल्न बाँकी रहेको छ।
भट्टका अनुसार गएराती करिब १:३० बजे बेनिघाट रोराङ्ग गाउँपालिका- ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
भट्टले मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै रहेको र घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको बताए। उनले मृतकमध्ये ६ जना महिला र ११ जना पुरुष रहेको जानकारी दिए। मृतकको सनाखत भने हुन बाँकी छ।
उनले दुर्घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएको बताए। बसमा ४६ जना यात्रु रहेको बताइएको छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनसन्धान जारी रहेको प्रहरीको भनाई छ।



















