काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति कडा आपत्ति जनाएको छ ।
युवा संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति जारी गर्दै आलोचना स्वीकार्य भए पनि अवरोध, अराजकता र उच्छृंखल गतिविधि स्वीकार्न नसकिने स्पष्ट पारेका छन्। उनले रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि तत्काल रोक्न तथा आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न आग्रह गरेका छन्।
यदि उक्त आग्रहको बेवास्ता गरिए र यस्ता गतिविधि दोहोरिए देशव्यापी रूपमा सशक्त प्रतिवादमा उत्रिने चेतावनी पनि युवा संघले दिएको छ।
यस घटनापछि एमालेले रास्वपाले राजनीतिक अपरिपक्वताको पराकाष्ठा देखाएको आरोप लगाएको छ। दाङमा बिहीबार राति रास्वपा समर्थकहरूले झण्डा जलाएपछि एमालेले यस्तो प्रतिक्रिया दिएको हो।
रास्वपा कार्यकर्ताले बिहीबार राति तुलसीपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए। सो कार्यलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ का रूपमा व्याख्या गरेको छ।
आज एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन आग्रह गरेका छन्।
उनले भनेका छन्, “उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा मात्र हो।”
आचार्यले थप भने, “लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुन्छ, अराजक प्रदर्शनबाट होइन। लोकप्रियतावादले तत्काल केही राहत र सहानुभूति दिलाउन सक्छ, तर त्यसको अन्त्य अत्यन्त दर्दनाक र दुःखद हुनेछ।”
नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्सले पनि यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक आरोप लगाइएको तथा पार्टीको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाएको छ । प्रशासनले दोषीमाथि कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी उसले दिएको छ ।





















