काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्सले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक आरोप लगाइएको तथा पार्टीको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाएको छ । प्रशासनले दोषीमाथि कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी उसले दिएको छ ।
फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठ ले शुक्रबार जारी गरेको विज्ञप्तिमा झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भएको बताएका छन्।
विज्ञप्तिमा यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले तत्काल कारबाही गर्नुपर्ने माग गरिएको छ। यदि सम्बन्धित निकायले कारबाही नगरे अराजक गतिविधिविरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी पनि फोर्सले दिएको छ।
बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका रास्वपा कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका थिए । उनीहरूले ‘केपी….., देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ ।
एमाले महासचिव शंकर पोखरेलले झण्डा जलाउने कार्य रास्वपाको अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताउँदै झण्डा जलाएर आस्थामा चोट पुर्याउनेलाई जनताले चिन्नुपर्ने उल्लेख गरेका छ्न् ।
पोखरेलको भनाइ छ, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’




















