विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस विराटनगर वडा नं. ६ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुमवासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको बताए।
कोइरालाले सुकुमवासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधि स्वयं बस्तीमा पुगेर स्थानीयवासीका समस्या सुन्ने वातावरण बनाइने आश्वासन दिए।
“म तपाईंहरूको पीडा र समस्या नजिकबाट बुझ्छु। आयोगसँग कुरा भइसकेको छ। उहाँहरू यहाँ आउनुहुन्छ, तपाईंहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको काम अघि बढ्छ,” उनले भने।
सुकुमवासीलाई कानुनी हैसियतसहित सुरक्षित बसोबासको सुनिश्चितताका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए।
उनले अर्को महत्वपूर्ण एजेन्डाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारे। चक्रपथ निर्माण नहुँदा सहरको विकासले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो।
“चक्रपथ बनेको भए वडा नं. ६ र ४ को स्वरूप नै फरक हुन्थ्यो। व्यापार, आवागमन र पूर्वाधार विकासमा ठूलो परिवर्तन आउँथ्यो, तर दुर्भाग्यवश काम अघि बढेन,” उनले उल्लेख गरे।
यसपटक आफू निर्वाचित भए चक्रपथ निर्माणलाई प्राथमिकतामा राखी आवश्यक बजेट र समन्वय जुटाउने प्रतिबद्धता उनले जनाए।
वडा नं. ६ भित्रको कालोपत्रे सडक निर्माणका विषयमा बोल्दै उनले ठेक्का लागिसके पनि ठेकेदार फरार हुँदा काम अलपत्र परेको बताए। निर्वाचनपछि उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने उनले आश्वासन दिए।
“काम सुरु भएर पनि अधुरो रहनु दुःखद हो। अब यस्तो ढिलाइ हुन दिइँदैन,” उनले भने।
त्यसका लागि कांग्रेसलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरे। साथै, वडा नं. ६ नजिकै रहेको सुकुमवासी बस्ती क्षेत्रमा अस्पताल स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि दिए।
करिब दुई वर्षअघि नै सो क्षेत्रमा अस्पताल निर्माणका लागि जग्गा छुट्याइएको उल्लेख गर्दै उनले अब त्यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए। स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।




















