काभ्रेपलाञ्चोक । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार युवा नेता अमित लामाले नमोबुद्ध नगरपालिकाको समग्र विकासमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार र बिहीबार नमोबुद्धबासीको घरदैलो अभियानमा सहभागी भएका लामाले पूर्वाधार निर्माण, सामाजिक सेवा विस्तार तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर नीति, योजना र बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए। नमोबुद्ध–५ कमेरेमा आयोजित भेटघाट कार्यक्रममा उनले एमाले सामाजिक न्याय, सुशासन र विकासको पक्षमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै युवाको भावना बुझ्ने गरी पार्टीले नयाँ पुस्तालाई उम्मेदवार बनाएको बताए।
उनले विगतमा अन्य दलले जिते पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै यसपटक सचेत निर्णय गर्न मतदातासँग आग्रह गरे। “सडकको अवस्था कमजोर छ, वर्षायाममा यातायात अवरुद्ध हुन्छ, किसानले उत्पादन बजारसम्म पुर्याउन सकेका छैनन्, शिक्षा र स्वास्थ्य सेवामा पनि समस्या छ,” उनले भने, “यी चुनौती समाधान गर्ने योजना र साहस हामीसँग छ।”
स्थानीय समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै लामाले जितेपछि पहिलो प्राथमिकतामा सडक पिच, किसानलाई उन्नत प्रविधि, बीउबिजन र मलखादको व्यवस्था, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार गर्ने बताए। साथै सामाजिक–आर्थिक सशक्तिकरण, युवामुखी कार्यक्रम तथा कला–संस्कृति र धार्मिक–सांस्कृतिक पर्यटनको विकासमार्फत समृद्धिको बाटो खोल्ने प्रतिबद्धता व्यक्त गरे।
समानुपातिक उम्मेदवार इन्द्रबहादुर तामाङले बहुदलीय व्यवस्थापछि एमाले नेतृत्वमा बनेको सरकारले विकासको आधार तयार पारेको स्मरण गर्दै त्यसलाई थप मजबुत बनाउन आफूहरू मैदानमा उत्रिएको बताए। उनले यसपटक जनताले सूर्य चिह्नका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरे।
एमाले क्षेत्र नं. १ को घरदैलो अभियान नमोबुद्धपछि तेमाल गाउँपालिकाका विभिन्न वडामा सञ्चालन हुने एमाले युवा नेता जेनिश लामाले जानकारी दिए।




















