काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले ११ बुँदे प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दै यी प्रतिबद्धता मन्त्रिपरिषद्को पहिलो बैठकबाटै समयसीमा तोकेर कार्यान्वयन गर्ने बताएका छन्।
घोषणापत्र अनुसार (१) प्रतिबद्धतामा १८ देखि २९ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराइने उल्लेख छ।
(२) युवा तथा उद्यमीलाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराइने जनाइएको छ। यसले सूचना प्रविधि क्षेत्रमा अनुसन्धान, उत्पादन, विकास र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने एमालेको विश्वास छ।
(३) विदेशबाट पैसा पठाउने श्रमिकको खातामा थप पाँच हजार रुपैयाँ जम्मा गरिनेछ भने वैदेशिक रोजगारीमा जाने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिइने व्यवस्था गरिनेछ।
(४) विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण उपलब्ध गराइनेछ। साथै सरकारी सेवा, निजी क्षेत्र र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहित इन्टर्नशिपको व्यवस्था गरिने जनाइएको छ।
(५) देशभरका विद्यालयका किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिनेछ।
(६) श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याइने र सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेटिने उल्लेख छ।
(७) शिक्षकको मर्यादाक्रम तोकिने र सामुदायिक तथा निजी विद्यालयका सबै शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराइने प्रतिबद्धता गरिएको छ।
(८) स्वास्थ्य स्वयंसेविकालाई मासिक २० हजार रुपैयाँ भत्ता उपलब्ध गराइने र उनीहरूलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेटिनेछ।
(९) उद्यमी महिलालाई २५ लाख रुपैयाँसम्म निर्व्याजी ऋण उपलब्ध गराइने, सुत्केरी महिलालाई २० हजार रुपैयाँ भत्ता तथा पाँच लाख रुपैयाँसम्म निःशुल्क जीवन बिमा गरिने व्यवस्था घोषणापत्रमा समेटिएको छ।
(१०) गरिब परिवार पहिचान गरी २०८२ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिने उल्लेख छ।
(११) बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चित गर्ने, सेवा सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सीप विकासको व्यवस्था गरी सम्मानजनक जीवनयापनको सुनिश्चितता गरिने प्रतिबद्धता एमालेले गरेको छ।




















