काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।
एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गर्दै युवामैत्री सन्देश दिएको छ। कार्यक्रममा पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको सहभागिता थियो।
कार्यक्रममा ओखलढुङ्गाकी अस्मिता थापा, मकवानपुर–१ का महेश बर्तौला, सर्लाही–४ का अमेरशकुमार यादव, काभ्रे–१ का अमित तामाङ, सोलुखुम्बुकी कल्पना राई, ताप्लेजुङका क्षितिज थेबे र डोटीका दिपक धामीलगायत उम्मेदवार सहभागी थिए।
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई लक्षित आकर्षक सुविधा समेटिएको छ। घोषणापत्र अनुसार युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क, गरिब परिवारको २५ हजार रुपैयाँसम्म ऋण मिनाहा गर्ने योजना अघि सारिएको छ।
त्यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारीमा रहेका श्रमिकका खातामा ५ हजार रुपैयाँसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण तथा पारिश्रमिकसहित इन्टर्नशिपको व्यवस्था गरिने उल्लेख छ। किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्म दिवा खाजाको कार्यक्रम पनि समेटिएको छ।
घोषणापत्रमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने, सबै शिक्षकलाई सामाजिक सुरक्षा, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता, महिलालाई २० लाखसम्म ऋण, २० हजार सुत्केरी भत्ता, गर्भवतीको निःशुल्क बीमा तथा सुरक्षाकर्मीको सेवा–सुविधा वृद्धि गर्ने योजना समावेश गरिएको छ।




















