सर्लाही । मलंगवा नगरपालिका–४ स्थित ढाँका बोर्डर टोलमा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।
घाइते हुनेमा १५ वर्षीय आकाश राम रहेका छन्। घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला परेपछि उनले खोलेर हेर्दा नक्कली ठानेर चलाउने क्रममा अचानक पड्किएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार गोली आकाशको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















