काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) मत माग्न कहिले हल बाँधेर त केहिले एक्लाएक्लै देश दौडाहा छन् । तर पार्टीका नेताहरुले भने धमाधक पार्टी परित्याग गर्न थालेका छन् ।
रास्वपाका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले आज पार्टी परित्याग गरेका छन्। उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी महामन्त्रीसमक्ष राजीनामा बुझाएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले पार्टी छाड्नुका सात कारण उल्लेख गरेका छन्। उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता र आर्थिक व्यवस्थापनमा पारदर्शिता नदेखिएको उनको आरोप छ।
राजीनामा पत्रमा उनले वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्। ‘मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ता भनेर चिनिएका केही व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको छ,’ उनले लेखेका छन्।
उनले पार्टीले सुरुमा ‘जान्नेलाई छान्ने’ नीति लिएको भए पनि व्यवहारमा सीमित व्यक्तिहरू, नेतृत्वको चाकडी गर्ने र वरिपरि घुम्ने प्रवृत्तिलाई प्राथमिकता दिइएको गुनासो गरेका छन्। यस्तो प्रवृत्तिले भोलिको संसद चटकदार, विकृत र अवसरवादी संरचनामा परिणत हुने खतरा देखिएको उनको भनाइ छ।
अघिल्लो निर्वाचनमा हुमागाईँले काभ्रे–२ बाट १० हजार ५७३ मत प्राप्त गरेका थिए। पछिल्लो समय रास्वपामा उम्मेदवार छनोट प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै पार्टी छाड्नेको संख्या बढ्दै गएको छ।
हिजो मात्रै रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेकी थिइन् भने नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् । प्रदेश सभापति भइसकेकी शर्मा र २०७९ सालकी प्रतिनिधिसभा उम्मेदवार रहेकी भुर्तेलले पार्टीको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत गतिविधि बढ्दै गएको भन्दै पार्टी परित्याग गरेका हुन्।
राजीनामा पत्रमा भुर्तेलले ‘युवा पुस्तालाई राजनीतिमा ल्याउने र जान्नेलाई छान्ने’ नाराबाट प्रेरित भएर पार्टीमा आबद्ध भए पनि व्यवहारमा विधि र विधानविपरीत चाप्लुसीवाद र आर्थिकवाद हाबी भएको आरोप लगाएकी छन् ।
त्यस्तै गत हप्ता मात्रै डा. प्रणय राणा, डा. श्रीबहादुर कुँवरलगायतले रास्वपा परित्याग गरेका थिए । राणा यसअघिको निर्वाचनमा काठमाडौं ५ बाट रास्वपाका उम्मेदवार थिए भने कुँवर यस निर्वाचनका लागि उम्मेदवारमा सिफारिसमा परेका नेता थिए ।
पार्टीभित्र क्षमतावान कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन नभएको, प्रिइलेक्सनका नाममा प्रत्यक्षतर्फका आकांक्षीबाट २५ हजार र समानुपातिकका आकांक्षीबाट ५० हजारका दरले करोडौं पैसा उठाएर छनौट प्रक्रियामा सहभागी नगराएको, पार्टीको नीति र नेतृत्व आर्थिक अनियमितताबाट प्रभावित भएको उनीहरुको आरोप छ ।




















