काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई फेरि प्रयोगशालाजस्तो बनाउने प्रयास भइरहेको भन्दै ‘नयाँ’ भनिने शक्तिहरूको भ्रममा नपर्न मतदातालाई आग्रह गरेका छन्।
बुधबार सार्वजनिक गरिएको एमालेको चुनावी घोषणापत्र कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेससँग मिलेर सरकार गठन गरेकै कारण भदौ २३ र २४ गतेको दुर्घटना नभएको दाबी गरे। ठूला दल मिलेर सरकार बनाउँदा विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको उनको भनाइ थियो।
उनले ठूला दलबीचको एकताका कारण दुर्घटना भएको नभई त्यो एकता भत्काउन षड्यन्त्र गरिएको जिकिर गरे। संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने सम्भावना समाप्त भएपछि अस्थिरता सिर्जना गर्न नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको उनको आरोप थियो।
सामाजिक सञ्जाल नियमनका लागि दर्ता हुन नआउने प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयपछि बहाना मिलेको उल्लेख गर्दै ओलीले भदौ २३/२४ को घटनालाई राज्यविरुद्धको गम्भीर षड्यन्त्रको रूपमा व्याख्या गरे। अहिले ‘नयाँ कि पुरानो’ भन्ने असान्दर्भिक बहस खडा गर्न खोजिएको उनले बताए।
‘आज नयाँ भनिने कोही पनि वास्तवमै नयाँ छैनन्,’ ओलीले भने, ‘स्थानीय वा सङ्घीय सरकारमा सहभागी भई उनीहरूले आफ्नो क्षमता र हैसियत देखाइसकेका छन्।’ नयाँ भनिने शक्ति पनि परीक्षण भइसकेको भन्दै उनले भ्रममा नपर्न मतदातालाई सचेत गराए।
एमालेका विगतका कामकाज आफैं प्रमाण भएको उल्लेख गर्दै ओलीले आन्दोलन मात्र होइन, नीति, सुशासन र विकास निर्माणमा पनि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरे।
उनले एमाले सरकारको नेतृत्वमा पुगेपछि लक्ष्यसहित योजना बनाइ काम अघि बढाइने बताए। ‘हाम्रो कार्यशैली स्पष्ट छ– जे थालिन्छ, सम्पन्न गर्ने; जे बोलिन्छ, पूरा गर्ने,’ उनले भने, ‘प्रधानमन्त्रीदेखि सचिवसम्म कार्यसम्पादन करार गरेर समयसीमा तोकी काम सुरु गरिन्छ।’




















