काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली– राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन ।
प्रजातन्त्र दिवसको अवसर पारेर बिहीबार घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका हुन् । ‘भत्काउने र बनाउने दुई सोचबीचको द्वन्द्वका बीच देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ,’ ओलीले भनेका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि अनिश्चिता छाएको बताउँदै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि स्वाधिनता र स्वाभिमानमाथि आक्रमण भइरहेको बताएका छन् ।
एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् ।




















