काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै अमर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनताको साहस, त्याग र बलिदानका कारण जहानियाँ राणा शासनको अन्त्य भई स्वतन्त्रता र अधिकारको बिहानी उदाएको उल्लेख गरेका छन्। उनले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन्।
ओलीले प्रजातन्त्र दिवसले नागरिकलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने बताएका छन्। उनका अनुसार पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउनु आवश्यक छ। दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्नुपर्ने जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन्।
त्यसैगरी तेस्रो जिम्मेवारीका रूपमा उनले आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग तथा पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष ओलीले ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै नागरिक जागरूकतापूर्वक अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले अन्त्यमा प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।




















