काठमाडौं । सर्वोच्च अदालतले दीपक खड्का लाई हालकै अवस्थामा थुनामै राख्न आदेश दिएको छ।
खड्काकी पत्नी विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो।
अदालतले विपक्षी निकायहरूलाई खड्कालाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न पनि निर्देशन दिएको छ। राजश्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतलाई सम्बन्धित सबै कागजातसहित भोलि (वैशाख ३) दिउँसो १२ बजेसम्म जवाफ पेश गर्न भनिएको छ।
अदालतको आदेशमा रिटमाथिको अन्तिम सुनुवाइ नभएसम्म खड्कालाई “हाल जे अवस्थामा छन्, सोही अवस्थामा राख्न” भनिएको छ।
यसअघि खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो। उनलाई जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको जलेको रकमबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्रीले बताएका थिए।
उक्त घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान गरिरहेको छ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड र आगजनी भएको थियो, जसपछि नेपाली तथा विदेशी मुद्रा जलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
सर्वोच्च अदालतले अब यस मुद्दाको अर्को पेशी वैशाख ३ गतेका लागि तोकेको छ।




















