काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि चैत १४ गते पार्टीको लेटरहेड दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गतेको बैठकले उनलाई एकपटकका लागि सचेत गराएको थियो।
तर त्यसपछि पनि चैत ३० गते उनले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टी जिम्मेवारीमै रहेको दाबी गरेका थिए र प्रेस विज्ञप्ति समेत जारी गरेका थिए। उक्त कार्य पार्टी विधानविपरीत भएको ठहर गर्दै विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा ८ (घ) बमोजिम सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।
यसैबीच, कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनका क्रममा अनुशासन उल्लंघन गर्ने पार्टी सदस्यविरुद्ध उजुरी दिने समय पनि थप गरेको छ। यसअघि चैत मसान्तभित्र उजुरी पठाउन निर्देशन दिइएकोमा अब वैशाख मसान्तसम्म म्याद थप गरिएको छ।
अनुशासन समितिले वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कुनै कारबाही नहुने स्पष्ट पारेको छ।




















