काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगन थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन् ।
प्रतिज्ञापत्रमा ‘आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ’ उल्लेख छ । कांग्रेसले ‘हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ’ लिपिबद्ध गरेको स्पष्ट पारेको छ ।
‘पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ शीर्षक दिएर प्रतिज्ञा पत्रमा लेखिएको छ, ‘हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिता समेत पाउने छन् ।’
प्रतिज्ञापत्रमा भनिएको छ, ‘युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्ने छन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ’ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।’ कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा गरेको छ ।
नेपाल आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ । भनिएको छ, ‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ ।’
स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुने वातावरण बनाउने उल्लेख छ । प्रतिज्ञापत्रमा भनिएको छ, ‘राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालु को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।’ कांग्रेसले ४ पृष्ठको १० बुँदे संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो । बिस्तृत प्रतिज्ञा पत्र भने काठमाडौँ आएर सार्वजनिक गर्ने उपसभापति विश्वप्रकाश शर्माले सम्बोधनका क्रममा जानकारी गराएका छन् ।
कांग्रेसको भिजन १०




















