झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचन परिणामजस्तै नेपालमा पनि आउने दाबी गरेका छन् । उनले बंगलादेशको चुनावका विजेतालाई बधाई तथा शुभकामना व्यक्त गरे।
काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले नेपालमा हुने चुनावको परिणाम पनि बंगलादेशकै जस्तो हुने बताए। सामाजिक सञ्जालमा लोकप्रिय रहेका केही व्यक्ति पराजित हुनु र आन्दोलनपछि उदाएको दल सिट संख्यामा खुम्चिनुका विषयमा पत्रकारले जिज्ञासा राख्दा उनले उक्त टिप्पणी गरेका हुन्।
ओलीले चुनावका लागि अझै पनि ढुक्कको वातावरण नबनेको दोहोर्याए। पार्टीले चुनावी तयारी अघि बढाइरहेको भए पनि आवश्यक वातावरण पूर्ण रूपमा नबनेको उनको भनाइ थियो।
यसअघि अध्यक्ष ओलीले झापा–५ अन्तर्गत कमल, गौरादह र गौरीगञ्जमा मतदातासँग भेटघाट गरेका थिए। यसपटक भने दमक केन्द्रित भएर जनतासँग प्रत्यक्ष भेट्ने योजना रहेको उनले जानकारी दिए। अधिकांश मतदातासँग प्रत्यक्ष संवाद गर्ने चाहना भएको पनि उनले उल्लेख गरे।
एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्ने छन् । यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।
सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११ः५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपरान्ह ४ बजे दमक–३ कै आमचोकमा कार्यक्रम आयोजना गरिएको एमाले दमकका अध्यक्ष राम पौडेलले बताएका छन् । यी सबै स्थानमा ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्न सक्ने वातावरण मिलाइएको बताइएको छ ।




















