काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई सहज र नियमित रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा देखिएको ग्यासको कृत्रिम अभावप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्रमा ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारीमा संलग्न तत्वमाथि कडा अनुगमन र कारबाही गर्न र सर्वसाधारणलाई सहज तथा नियमित रूपमा ग्यास उपलब्ध गराउने प्रभावकारी व्यवस्था गर्न माग गरिएको छ ।
अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेशले इन्चार्ज नितेश लामिछानेको नेतृत्वमा निगममा पुगेर ज्ञापनपत्र बुझाएको हो ।




















