बर्दिबास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फरार अभियुक्त र विभिन्न अपराधमा संलग्न व्यक्तिमाथि निगरानी कडा पारेको छ। चुनाव नजिकिँदै जाँदा मधेस क्षेत्रमा सम्भावित सुरक्षा जोखिम बढ्न सक्ने विश्लेषण गर्दै प्रहरीले गाउँ-गाउँबाट खोजी अभियान तीव्र बनाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो अभियानमा विभिन्न प्रकृतिका अपराधमा संलग्न ९९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालु मुद्दाका ३९ जना प्रतिवादी, अदालतको फैसला कार्यान्वयनतर्फ ५६ जना, तथा कारागार तोडेर वा अन्य तरिकाले फरार रहेका ४ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार चुनावी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै फरार सूचीमा रहेका, हतियारसम्बन्धी गतिविधिमा जोडिएका तथा बाहिर बसेर आपराधिक सञ्जाल चलाउनसक्ने व्यक्तिहरूलाई प्राथमिकतामा राखेर पक्राउ गरिएको हो। ‘निर्वाचनको वातावरण शान्त र भयरहित बनाउन कानुनी दायराबाहिर रहेका सबैलाई नियन्त्रणमा ल्याउने काम जारी छ,’ उनले भने।
यसैबीच सुरक्षाको प्रत्याभूति दिलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू जिल्लाका संवेदनशील मानिएका बस्ती र आवागमनका मार्गहरूमा संयुक्त रूपमा पैदल गस्तीमा खटिएका छन्। विगतमा भएका आन्दोलन, जेल तोडेर फरार भएका कैदीबन्दी र सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिले निर्वाचन सुरक्षामा दबाब थप्ने भएकाले सुरक्षा निकायले अग्रिम तयारी बलियो बनाएको जनाइएको छ।
प्रहरीले फागुन २१ गते हुने निर्वाचनसम्म खोजी, निगरानी र संयुक्त गस्तीलाई अझै सघन बनाउने योजना अघि बढाएको छ।




















