सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सकिने अवस्था रहेको बताएकी छन्।
हिमाली जिल्लामा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले सोलुसहित अन्य हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने जानकारी दिइन्। उनले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ गतेको निर्वाचनको विकल्प छैन। हिमाली भेगका चुनौतीलाई ध्यानमा राख्दै सरकारले आवश्यक सबै तयारी पूरा गरिसकेको छ।”
उनले निर्वाचन भयरहित, शान्त, निष्पक्ष तथा धाँधलीरहित ढंगबाट सम्पन्न हुनेमा विश्वस्त रहन आम मतदाता, राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरिन्। सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको बताउँदै सम्बन्धित सबै निकायलाई आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्न निर्देशन दिइन्।
जिल्ला सुरक्षा समितिसँगको ब्रिफिङमा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण बनाउन विशेष निर्देशन दिएकी छिन्। हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न पनि उनले निर्देशन दिइन्।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक स्थिति तथा पहुँचसम्बन्धी विवरणसहितको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेकी थिइन्। प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिइन्।
जिल्लामा १२३ मतदान स्थल रहेका छन्, जसमध्ये सातवटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले बताइन्। हिमपात, मौसम परिवर्तन तथा भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजना समेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि नागरिकले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरिन्।




















