काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र हाल राष्ट्रिय सभामा महत्वपूर्ण विधेयक वा अन्य कार्यसूची नरहेको भन्दै सरकारले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
चालु अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएका छन् भने ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता भएको छ।




















