काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
रवि लामिछाने प्रस्तावक रहेका अर्यालको उम्मेदवारीमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका छन्।
संघीय संसद सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो भने साढे २ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिनेछ।
सभामुख पदको निर्वाचन चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ। सो दिन प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन जनाउनेछन्। त्यसपछि उम्मेदवारीमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
यसअघि बिहीबार बसेको रास्वपाको बैठकले अर्याललाई सभामुखका रूपमा अघि सार्ने निर्णय गरेको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित दुईतिहाइ बहुमत नजिक रहेकाले अर्यालको जित लगभग निश्चित मानिएको छ।
हाल सभामुख पद रिक्त रहेकाले अर्जुन नरसिंह केसी ले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै आएका छन्।


















