काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी १ वैशाखदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी गरेको छ ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।
थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी २ रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने कामपाले जानकारी दिएको छ ।
‘बेलुका ८:०० बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगोमा यात्रा गर्नुपर्ने समस्याको समाधान गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ,’ कामपाकी कार्यवाहक प्रमुख सुनिता डंगोल भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकामा यसको केही हदसम्म समाधान हुने विश्वास छ ।’ उनले यसअघि रातिको समयमा किशोरी र महिलाले दुर्व्यवहार भोग्नुका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गरे । (रासस)




















