काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले डोलप्रसाद अर्याल (डीपी अर्याल)लाई समर्थन गर्ने जनाएको छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सभामुखमा उम्मेदवारी नदिने स्पष्ट पार्दै संसदमा दुईतिहाइ बहुमत नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारलाई समर्थन गर्नु स्वाभाविक रहेको बताए।
यसअघि रास्वपा उपसभापति अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।
यद्यपि, नेकपाले उपसभामुख पदमा भने आफ्नो दाबी कायम राखेको छ। सहमति जुटे उपसभामुखमा उम्मेदवारी दिने तयारी रहेको पार्टीका एक नेताले बताएका छन्।
उता, नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार सत्तापक्षसँग संसदमा पर्याप्त बहुमत रहेकाले र सभामुख साझा पद भएकाले उम्मेदवारी नदिने निष्कर्ष निकालिएको हो।




















