काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्र खोजेर उम्मेदवारी दिन बाध्य भएको टिप्पणी गरेका छन्।
झापाको गौरीगञ्जमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै जिल्लामा जनविश्वास नपाएका नेताहरूले अर्कै क्षेत्रमा गएर चुनाव लड्ने गरेको बताए।
उनले भने, “हामीले बुझ्नुपर्छ, आफ्नै जिल्लाबाट कोही किन चुनाव लड्दैन रु त्यहाँ कसैले पत्याउने अवस्था छैन। त्यहाँ ढाँट्न सकिँदैन। काठमाडौँबाट जितिसकेको मान्छे फेरि त्यहीँबाट किन चुनाव लड्न आँट गर्दैन रु”
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौँको मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएको र उनी यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थिए ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट उम्मेदवार बनेको स्मरण गराउँदै यसअघि उनी गोरखाबाट निर्वाचित भएका थिए ।
ओलीले यी सबै विषय बुझेर मात्रै मत दिन मतदातालाई आग्रह गरेका छन् ।
गौरीगञ्जसँग आफ्नो सम्बन्ध २०२६ सालदेखि रहेको उल्लेख गर्दै ओलीले २०२९ सालसम्म त्यहीँ संगठनको काममा खटिएको बताए । २०३० सालमा जेल परेपछि केही समय आउन नपाएको र २०४७ सालको अन्त्यतिरदेखि पुनः निरन्तर सम्पर्क कायम भएको उनले बताए ।
“केही समय यहाँ आउन पाएको थिइँन । आज भेटघाट हुन पाउँदा खुसी लागेको छ। यो ठाउँसँग मेरो सम्बन्ध धेरै पुरानो छ,” ओलीले भने।
गौरीगञ्जको विकासबारे चर्चा गर्दै उनले विगतको गौरीगञ्ज र हालको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जबीच ठूलो अन्तर आएको बताए। “पहिलेको गौरीगञ्ज र आजको गौरीगञ्जबीच आकाश–जमिनको फरक छ,” उनले भने।
विकास पूर्वाधारतर्फ संकेत गर्दै ओलीले हुलाकी राजमार्ग आफ्नै पहलमा अघि बढेको दाबी गरे। लेराको पुल निर्माणका लागि लामो समय संघर्ष गर्नुपरेको र हुलाकी राजमार्ग विस्तारसँगै पुल निर्माण सम्भव भएको उनले बताए।
उनका अनुसार कन्काई नदीको एउटा पुलबाहेक अधिकांश काम सम्पन्न भइसकेका छन् भने रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा छन्।
सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको दाबी गर्दै उनले ज्येष्ठ नागरिक भत्ता ४ हजार रुपैयाँ पुर्याइएको बताए।
अध्यक्ष ओलीले समाजमा सद्भाव बिगार्ने प्रयासप्रति सचेत गराउँदै मधेसी र पहाडीबीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिए।




















