
काठमाडौँ । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन निर्देशन दिएकी छन्।
मंगलबार जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा देखिएका सुरक्षा संयन्त्रबीचका समन्वयगत कमजोरी नदोहो¥याउन सचेत गराएकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “विगतमा सुरक्षा निकायहरूबीच समन्वयमा देखिएका त्रुटि र रिक्तता अब दोहोरिन नदिनुहोस्। चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिन सतर्क रहनु आवश्यक छ।”
उनले अघिल्ला निर्वाचनका अनुभव र आसन्न निर्वाचनका विविध आयामहरूको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित रूपमा काम गर्न निर्देशन दिइन्।
त्यस्तै, राजनीतिक गतिविधि बिनाअवरोध सञ्चालन गर्न आवश्यक वातावरण तयार पार्न पनि सेनालाई आग्रह गर्दै उनले अन्य सुरक्षा निकायसँग स्पष्ट कार्ययोजनासहित सहकार्य गर्न निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण र सुरक्षित बनाउन तथा सबै राजनीतिक दलका गतिविधिहरू बिनाअवरोध सञ्चालन हुने वातावरण सिर्जना गर्न अन्य निकायसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ।”
कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले स्वागत मन्तव्य राखेका थिए ।
उक्त बैठकको दौरान सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नुका साथै समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, रथीवृन्द लगायत रक्षा मन्त्रालय तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।




















