
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वेदबाट प्रेरित रहेको बताएका छन्।
झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले घरदैलो अभियानका क्रममा झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै नेपाल समृद्ध र नेपाली सुखी हुनुपर्छ भन्ने अवधारणा प्राचीन वैदिक दर्शनसँग मेल खाने बताए।
उनले भने, ‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने कुरा राखेको हुँ। यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो। “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, दुःख कसैलाई पनि नपरोस्” भन्ने भाव हाम्रो पुरानो मन्त्रमै छ।’
अध्यक्ष ओलीले ज्ञान, विज्ञान र चिकित्साजस्ता विधामा नेपाली पूर्वजहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। उनका अनुसार शास्त्र निर्माण गर्ने र चिकित्सा शास्त्रको सुरुआत गर्ने काम पनि यही भूभागका ऋषिहरूले गरेका थिए।
उनले भने, ‘शास्त्र बनाउने हाम्रा पूर्वज थिए। त्रेता युगमा विश्वामित्र ऋषिका पुत्र सुश्रुत विश्वकै पहिलो सर्जन थिए र पहिलो शल्यक्रिया गर्ने व्यक्ति पनि उनी नै थिए।’
वेदमा व्यक्त गरिएको भावनाजस्तै सबै मानिस सुखी होऊन्, कसैले पनि दुःख नपाओस् भन्ने चाहना आफूले राखेको ओलीको भनाइ थियो। उनले भने, ‘कोही पनि आपतमा नपरोस्, डर र त्रासको वातावरण नहोस् र चारैतिर शान्ति फैलियोस् भन्ने नै हाम्रो लक्ष्य हो।’




















