काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले र नेपाली कांग्रेसबाट गठबन्धनको प्रस्ताव आए पनि त्यो टरिसकेको बताएका छन् ।
आज सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक प्रचण्डले निर्वाचनमा गठबन्धन गर्ने समय सकिइसकेको बताए । संयोजक प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबाट गठबन्धनका लागि प्रस्ताव आएको पनि दाबी गरे ।
उनले भने, ‘कांग्रेस विशेष महाधिवेशन अघि र राष्ट्रिय सभा निर्वाचन अगाडि कुरा भएको थियो । यो प्रस्ताव हाम्रो थिएन फेरि, नेपाली कम्युनिष्ट पार्टीको प्रस्ताव थिएन । कांग्रेस र एमालेले केही खास नेताहरूको हकमा हामीले उनीहरूलाई चुनाव जिताउने गरी प्रस्ताव आएको थियो । त्यसमा हामीले सैद्धान्तिक रूपमा अस्वीकार गरेका थिएनौं, स्वीकार पनि गरेका थिएनौं ।’
संयोजक प्रचण्डले राष्ट्रिय सभामै गठबन्धनको प्रयास सफल नभएपछि प्रतिनिधिसभा निर्वाचनमा पनि हुन नसकेको स्पष्ट पारे । उनले थपे, ‘त्यसको सुरुवात राष्ट्रिय सभाको निर्वाचनबाट हुन्छ भनेका थियौं । त्यहाँ केही इमानदारिता देखियो भने केही सिट मिलाउन सकिन्छ भनेका हौं । तर राष्ट्रिय सभाको निर्वाचनमा फेरि कांग्रेस र एमाले सरकार बनाएर फेरि यो देशलाई बरबाद पार्ने बाटोमै हिँड्नु भयो । नेपाली कम्युनिष्ट पार्टीलाई आउट गर्ने बाटोमा हिँड्नु भयो उहाँहरू । उही विध्वंसकै बाटो राज्नु भयो । त्यसैले समीकरण उहाँहरूले नै सिद्ध्याई दिनुभयो ।’




















