काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको थियो। राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको विधेयक हाल विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो।
बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। यसअघि सो विधेयकमाथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरिनेछ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्नेछ।




















