काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मै चुनाव हुने बताएका छन् । बुधबार काठमाडौँको स्वयम्भूथित मुस्ताङ गुम्बामा मुस्ताङमा नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को परिचयात्मक कार्यक्रममा बोल्दै उनले दुई चरणमा चुनाव नगर्न सरकारलाई सुझाव दिए ।
उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस् । यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो । यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ ।’ प्रधानमन्त्री सुशीला कार्कीले हिजो हिमाली क्षेत्रमा हिमपातले अप्ठ्यारो अवस्था आएमा अर्को चरणमा चुनाव गर्ने बताएकी थिइन् ।
त्यसलाई लिएर प्रचण्डले एउटै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका हुन् । उनले केही मान्छेहरूले अझै चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका राखिरहेको बताउँदै तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताए । स्वच्छ र धाँधलीरहित भए नेकपाले राम्रो नतिजा ल्याउने दावी समेत गरे ।




















