काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा स्टक नगर्न अनुरोध गरेको छ।
निगमले पछिल्लो समय बजारमा ग्यास अभाव भएको भन्दै फैलाइएको हल्लाको पछि नलाग्न आग्रह गरेको हो।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट (झन्डै १ लाख १४ हजार सिलिन्डर) एलपी ग्यास आवश्यक पर्छ। तर, शनिबारदेखि मंगलबारसम्म कुल ३६५ बुलेट ग्यास लोडिङ गरिएको उनले जानकारी दिए।
मंगलबार मात्रै भारतबाट १ लाख ६३ हजार ३ सय सिलिन्डर ग्यास आयात भएको र तीमध्ये केही बुलेट बाटोमै रहेकाले आजै नेपाल प्रवेश गर्ने भट्टले बताए।
उनले सामाजिक सञ्जालमार्फत उपभोक्तालाई अनावश्यक रूपमा ग्यास स्टक नगर्न अनुरोध गरेका छन्। चुनावी अवधिमा पनि यसैगरी नियमित रूपमा ग्यास आपूर्ति हुने उनले स्पष्ट पारे।
केही दिनयता ग्यास अभाव भएको हल्लापछि उपभोक्ताहरू लामो लाइनमा बसेर ग्यास लिन बाध्य भएका छन्।





















