काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिक गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्।
बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रम रहेकाले उनका समर्थकहरू विमानस्थल पुगेका थिए। समर्थकहरू सवार गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए।
उनका अनुसार विमानस्थल परिसरभित्रको सडक भएकाले गाडी तीव्र गतिमा नरहेको र घाइतेहरूको अवस्था सामान्य रहेको छ।
‘चार–पाँच जना गाडीबाट खसेको भन्ने सूचना आएको छ। गाडीको गति कम भएकाले सामान्य चोटपटक मात्र लागेको बुझिएको छ,’ एसपी जिसीले भने।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि बालेन शाह पश्चिम क्षेत्रतर्फ गएका छन्। उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन्।




















