धनकुटा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका राईले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
राईले धनकुटाको समग्र विकासका लागि दीर्घकालीन योजनासहित गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, गाँजा मुद्दामा निर्दोष नागरिकमाथि लगाइएका मुद्दा पुनरावलोकन गरी रिहाइका लागि पहल गर्ने उल्लेख गरेका छन्।
उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै जिल्लाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने बताए। धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने र प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने प्रतिबद्धता पनि जनाए।
चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा नमुना सहर निर्माण गर्ने, चिया, एभोकाडो, सुन्तला, किवी, कफी र ड्रागन फलको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि कृषि बजार केन्द्र सञ्चालन गरिने राईले बताए।
उनका अनुसार जेनजीलाई आधुनिक प्रविधिमार्फत नवप्रवर्द्धनात्मक सिकाइ र आयआर्जनमा जोड दिइनेछ भने धनकुटा सदरमुकामस्थित ऐतिहासिक तल्लो टुँडिखेललाई आधुनिक रंगशालामा रूपान्तरण गरिनेछ।
राईले प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा राष्ट्रिय मापदण्डअनुसारको खेलग्राम निर्माण गर्ने, खुवालुङ–लालीगुराँस पदमार्ग र बराहक्षेत्र–मिक्लाजुङ सांस्कृतिक याक्थुङ पदमार्ग विकास गर्ने योजना पनि सार्वजनिक गरेका छन्।
यसका साथै छिन्ताङदेवी, धर्मदेवी र मधुगंगा धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, राजारानी ताल, संसारीमाई सिमसार, नमस्ते झरना र लेगुवा झरनालाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाइएको छ।
उनले किसानलाई अनुदान र सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने, नमस्ते झरनादेखि नाम्जेसम्म केबलकार निर्माण, आधुनिक कोल्डस्टोर स्थापना तथा विगतमा सुरु भई अधुरा रहेका विकास आयोजना सम्पन्न गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।
पत्रकार सम्मेलनमा राईले मुख्य विकास योजना समेटिएको भन्दै पार्टीको जिल्ला तथा पालिकास्तरीय प्रतिबद्धता पत्रमा विस्तृत कार्यक्रम समावेश गरिने जानकारी दिए।




















