काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नजिकिँदै गर्दा पनि देश अझै असहज अवस्थामा रहेको बताएका छन्।
नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्ने क्रममा उनले देशमा पुनः राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिए। प्रचण्डले निर्वाचनको परिणामप्रति अन्योल कायम रहेको उल्लेख गर्दै एकताबद्ध प्रयास आवश्यक रहेको बताए।
उनले भने, “चुनाव अगाडि छ तर यो चुनावले के परिणाम दिन्छ भन्ने विषयमा अझै अन्योल छ। यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा जुटेनौं भने देश फेरि अर्को दुर्घटनातर्फ जान सक्छ।”
उनले पार्टी पंक्तिलाई एकताबद्ध भएर निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन निर्देशन पनि दिएका छन्। स्टनवाजहरुको प्रचारले देश अप्ठ्यारोमा जाने बताउँदै युट्युवरहरुलाई पैसाको पछि नलाग्न आग्रह गरेका छन् ।
पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच पार्टीका संयोजक प्रचण्डले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालसहित अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायत ८ जना केन्द्रीय सदस्यलाई पार्टीमा भित्र्याए ।
अधिवक्तासमेत रहेका ढकाल पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विश्वास पात्र थिए । पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने, समानुपातिकको बन्दसूचीलगायत अन्य कानूनी काममा ढकालले नै अगुवाइ गरेका थिए । प्रतिनिधिसभा काठमाडौं- ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् ।




















