काठमाडौं । पछिल्लो समय राजनीतिमा चासोका साथै टिप्पणी गर्दै आएकी गायिका ज्योति मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत देशको राजनीति, वैदेशिक प्रभाव र ‘नयाँ–पुरानो’ बहसप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनले पछिल्लो समय चुनाव, विदेशी हस्तक्षेप र राष्ट्रिय स्वाधीनतासम्बन्धी बहसहरूलाई लक्षित गर्दै तीखो टिप्पणी गरेकी हुन्।
गायिका मगरले नेपाल गरिब देश भए पनि कहिल्यै कसैको गुलाम नभएको इतिहास बोकेको स्वाधीन र स्वतन्त्र राष्ट्र भएको उल्लेख गर्दै चेतावनीपूर्ण भाषा प्रयोग गरेकी छन्। “कुनै भिजन नभएका, अविवेकी र उत्तेजना फैलाउने तत्वहरूले देश जलाउने, देश झुकाउने काम नगर्नू,” भन्दै उनले यस्ता प्रवृत्तिप्रति ‘खबर्दार’ भनिन्।
उनको स्टाटसमा नेपाललाई कहिले भारत, कहिले अमेरिका, कहिले ‘रअ’, कहिले ‘सिआइए’, कहिले ‘फ्री तिब्बत’ जस्ता शक्तिहरूले प्रयोग गर्ने प्रयोगशाला बनाइएको आरोप समेत गरिएको छ। “यो देश प्रयोग गरि हेर्ने प्रयोगशाला होइन,” उनले स्पष्ट शब्दमा लेखेकी छन्।
आगामी चुनावको सन्दर्भ उल्लेख गर्दै मगरले “यो चुनाव नयाँ–पुराना, फलाना–ढिकाना होइन, राष्ट्रवादीले जित्नुपर्छ, राष्ट्रले जित्नुपर्छ” भन्ने धारणा राखेकी छन्।
उनको स्टाटसको अन्त्यमा गरिएको टिप्पणी झनै चर्चित बनेको छ। “कमेन्टमा आफ्नो–आफ्नो औकात व्यक्त गरौँ, मानवहरूले सकारात्मक कमेन्ट गरौँ, कुकुरहरूले नकारात्मक कमेन्ट गरौँ,” भन्ने अभिव्यक्तिले सामाजिक सञ्जालमा बहस र प्रतिक्रिया तीव्र बनाएको छ।
गायिका मगरको यो अभिव्यक्तिलाई कतिपयले राष्ट्रवादी चेतनाको आवाजका रूपमा समर्थन गरेका छन् भने कतिपयले उनको भाषा र शैलीप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा उनको स्टाटस व्यापक रूपमा सेयर हुँदै विभिन्न कोणबाट चर्चा भइरहेको छ।





















