काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रभावकारी सुरक्षा योजना तयार गरी त्यसअनुसार प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यममार्फत आयोजित निर्देशन कार्यक्रममा आईजीपी कार्कीले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै आ–आफ्नो कार्यक्षेत्रमा सम्भावित आपराधिक गतिविधि हुन नदिन सूचनाको प्रभावकारी संकलन र पूर्वतयारीमा जोड दिए।
उनले अपराध अनुसन्धानलाई थप सक्रिय बनाउने, सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार बरामद, ट्राफिक व्यवस्थापन तथा फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी कार्कीले निर्वाचन अवधिमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन समन्वयात्मक र जिम्मेवार ढंगले सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरे।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पनि फिल्डमा खटिने प्रहरी कर्मचारीलाई परिस्थितिअनुसार आफूलाई ढाल्दै सतर्क र पेशागत रूपमा काम गर्न अनुरोध गरे।
निर्देशन कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।




















