काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएको छ ।
नेता कोइरालाले आज यहाँ आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएको हो ।
“मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न,” उनले भने, “पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई सङ्कटबाट जोगाउनुपर्ने आवश्यकता छ ।”
नेता डा. कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र सङ्कटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राखियो । उनले नेता तथा कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरियो ।
पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ थियो । (रासस)




















