काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले लोकतन्त्र अझै रहेको भन्दै एमाले अजम्बरी रहेको बताएका हुन्।
उनले भने, ʻपुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्न खोजिएको छ। प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ, एमाले अजम्बरी छ।ʼ
उनले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमिजस्तै जलेको बताए ।
‘जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आतताहीबाट जलाइएको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पूराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो ।’




















