काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्रको रक्षा र राष्ट्रको मजबूतीका लागि सबै राजनीतिक दलहरू एकीकृत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्ति सक्रिय रहेको भन्दै दलहरूबीच एकता र जागरुकता आवश्यक रहेको बताएका हुन्।
“फेरि हामी पार्टीहरू एकीकृत भएर, जागरुक भएर लोकतन्त्र जोगाउन र देशलाई मजबुत बनाउन अघि बढ्नेछौं,” महतले भने, “हामीभित्र रहेका केही कमजोरी र त्रुटिहरूको पनि समीक्षा हुनेछ।”
उनले हालैका घटनाहरू—पार्टी कार्यालय र नेताहरूको घरमा भएको आगजनी र तोडफोडप्रति संकेत गर्दै कांग्रेसको आत्मविश्वास कमजोर नभएको स्पष्ट पारे। “हामी फेरि पनि उठ्नेछौं, दृढ भएर अघि बढ्नेछौं,” महतले बताए ।
उनका अनुसार, राजनीतिक दलहरू कुनै सहज परिस्थितिमा बनेका होइनन्; ती ठूलो त्याग, तपस्या र बलिदानबाट स्थापित भएका हुन्। तर पछिल्ला गतिविधिहरू ती दलहरूलाई थाङथिलो पार्ने षड्यन्त्रकै हिस्सा भएको उनले दाबी गरे।
प्रवक्ता महतले कांग्रेस अब समीक्षासहित आउने बताउँदै मुलुकलाई विकास, निर्माण र रोजगारीको दिशातर्फ अग्रसर गराउने विषयमा गम्भीर चिन्तन भइरहेको जानकारी दिए।




















