काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका तीन जना प्रस्तावित तीन न्यायाधीश र एकजना न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ ।
आज बिहान बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशहरुमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको हो ।
त्यस्तै समितिले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ ।
यस निर्णयमा असहमति जनाउँदै माओवादी सांसद्हरूले बैठक बहिष्कार गरेका थिए । समितिमा रहेका माओवादी सांसद जनार्दन शर्मा र जगप्रसाद शर्माले बैठक बहिष्कार गरेका हुन् । समिति सदस्य तथा माओवादी सांसद जगप्रसाद शर्माले संविधानको मर्मअनुसार न्यायाधीश नियुक्ति समावेशी नभएका कारण आफूहरुले बैठक बहिष्कार गरेको बताएका छन् । सिफारिस भएका व्यक्तिको बारेमा असहमति भएर हैन, संविधान उलङ्घन हुन लाग्यो भनेर निर्णय प्रक्रियामा सामेल नभएको उनको भनाइ छ ।




















