काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा गरेका छन् । अध्यक्ष खनालले आफ्नो राजीनामा पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मामार्फत् मन्त्रिपरिषद्समक्ष मंगलबार बिहान बुझाएको बुझिएको छ ।
अहिले प्राधिकरणले खरिद गरेको प्रविधि, स्मार्ट टेलिकमको लाइसेन्स विवाद र एनसेल किनबेचको विवाद चलिरहेका बेला खनालले राजीनामा बुझाएका हुन ।
शर्मा मन्त्री भएदेखि नै अध्यक्ष खनाललाई हटाउन खोजेकी थिइन् । खनाल नहटेपछि प्राधिकरणसँग जोडिएका विषयमा निर्णय गराउनका लागि दबाब दिएको स्रोतको दावी छ ।
शर्माको दबाबअनुसार खनालले काम नगरेपछि अध्यक्षकै सेवा सुविधा प्राधिकरणबाट दिनेगरि मन्त्रालयका सल्लाहकार नियुक्त गरेर उनी मार्फत दबाब बढाइकी थिइन् ।
खनाललाई प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमै डाकेर पद छाड्न दवाव दिएको पनि स्रोतको दावी छ ।
सरकारले खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषदबाट ५ वर्षे नियुक्ति दिएको थियो ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको पालामा नियुक्त उनी आगामी साउनमा बाहिरिँदै थिए । तर उनले ७ महिनाअघि नै पद छाडेका छन् ।




















