काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा देश निर्माणको एजेन्डा बोकेका शक्तिभन्दा देशलाई कमजोर बनाउने योजनासहित केही पात्रहरू सक्रिय भएको आरोप लगाएका छन्।
फागुन २१ गते हुने चुनावको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू राजनीतिक मैदानमा देखापरेको बताए। उनका अनुसार ती शक्तिहरूको लक्ष्य देश र जनताको जीवन परिवर्तन गर्नु नभई डिजिटल ‘अल्गोरिदम’को प्रयोगमार्फत सत्ता कब्जा गर्नु हो। यस्ता षडयन्त्रकारीलाई जनताले धुलो चटाउने विश्वास व्यक्त गरेका छन् ।
बस्नेतले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सिर्जना गरिएका आवाजहरू जनताको वास्तविक भावना नभएको दाबी गरे। साइबर फ्याक्ट्रीबाट फैलाइने भ्रम, झुट र हेरफेरले जनमत प्रभावित पार्ने प्रयास भइरहेको भन्दै उनले यस्ता गतिविधि खतरनाक भएको उल्लेख गरे।
उनले सबैलाई सजग रहन आग्रह गर्दै अल्गोरिदमको प्रयोगमार्फत देश र लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिबाट संविधान र जनताको भविष्य जोगाउनु आजको प्रमुख चुनौती भएको बताएका छन्।



















