
झापा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मतदाता र कार्यकर्तासँग प्रत्यक्ष भेटघाट तथा वडा–वडामा छलफलमा सक्रिय छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक गृहनगर दमक पुगेका ओलीले मंगलबार रातिसम्म पार्टी कार्यकर्तासँग संवाद गरेका थिए ।
स्थानीय जनप्रतिनिधिसँग भेट्दै उनले आफूले अघि सारेका विकास आयोजनाको प्रगति अवस्थाबारे जानकारी लिएका छन् । झापा–५ सँगै सिमाना जोडिएको इलाम–२ का एमाले उम्मेदवार सुहाङ नेम्वाङ पनि दमक आइपुगेका थिए ।
मंगलबार राति ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यसँग छलफल गरे । ओलीले तल्लो तहका कार्यकर्ताको कुरा सुन्दै पार्टीलाई जिताउने रणनीतिबारे सुझाव मागेका थिए । दमकका १० वटै वडा कमिटीसँग छुट्टाछुट्टै भेट गर्दै उनले करिब ४ सय पदाधिकारी तथा सदस्यसँग सामूहिक छलफल गरेका छन् । बुधबार बिहानदेखि पनि उनी अग्रपंक्तिका कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।
एमाले झापा–५ निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालका अनुसार आज कमल गाउँपालिकाका सातै वडा कमिटीका पदाधिकारी र सदस्यसँग बैठक तय गरिएको छ । ‘सबै वडा कमिटीको रिपोर्टिङ सुनेपछि युवा भेलामा सहभागी हुनुहुने कार्यक्रम छ,’ दाहालले भने ।
झापा–५ अन्तर्गत दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ वडा र गौरीगञ्ज गाउँपालिकाका ४ वडा पर्दछन् । ती सबै क्षेत्रका पार्टी कमिटीबाट प्राप्त सुझाव र रिपोर्टका आधारमा आगामी कार्यक्रम तय गरिने बताइएको छ ।
यसैबीच ओलीले करिब ३० वर्षअघि दमकमा आफैंले बनाएको घरको अवलोकन गरेका छन् । जेन–जी आन्दोलनका क्रममा जलाइएको उक्त घर र सरसामान लुटपाट भएपछि हालसम्म मर्मत हुन सकेको छैन । निर्वाचन अभियानका क्रममा झापा आएका ओली हाल होटलमा बस्दै आएका छन् ।
उनले भदौ २४ मा जलाइएका दमक नगरपालिका, इलाका प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा दमक नगरपालिकाका मेयर राम थापाको घर समेत अवलोकन गरेका छन् । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार ओली माघ ९ गतेसम्म दमकमा रहने कार्यक्रम छ ।




















