काठमाडौं । अमेरिकाले हर्मुज जलडमरूमध्यस्थित इरानको क्वेसम टापुमा आक्रमण गरेको छ। अमेरिकी सञ्चारमाध्यम फक्स न्युज र द वाल स्ट्रिट जर्नलले यसबारे समाचार प्रकाशित गरेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण तीव्र बनाउने आफूलाई कुनै हतार नभएको बताएका छन् ।
समाचार संस्था एक्सियोससँगको कुराकानीमा ट्रम्पले कुनै न कुनै रूपमा इरानमाथि कारबाही गर्ने तर त्यसका लागि हतार नगर्ने बताएका हुन् ।
‘हामी कुनै न कुनै तरिकाले कारबाही गर्नेछौँ, तर कुनै हतार छैन। हामीले उनीहरूलाई आर्थिक रूपमा पूर्ण रूपमा कमजोर पारेका छौँ,’ ट्रम्पले भनेका छन् ।
उनले इरानसँग आर्थिक स्रोत र पेट्रोलियमको अभाव रहेको दाबी गर्दै त्यहाँका जनता पनि वर्तमान अवस्थाबाट दिक्क भइसकेको बताएका छन् ।
सोमबार वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा ट्रम्पलाई मध्यावधि चुनावपछि इरानमाथि आक्रमण पुनः सुरु गर्ने योजना छ कि छैन भनेर सोधिएको थियो । जवाफमा उनले त्यस्तो योजना नरहेको बताएका थिए ।
एक्सियोसका संवाददाता बाराक रविदका अनुसार एक अमेरिकी अधिकारीले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सोमबार राति क्वेसम टापुबाट हर्मुज क्षेत्रमा रहेको अमेरिकी विमानलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
ती अधिकारीका अनुसार उक्त आक्रमणको जवाफमा अमेरिकी लडाकु विमानले आत्मरक्षाका लागि इरानको सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीको लन्चर ध्वस्त पारेको थियो।




















