काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा बुझाएको छ।
महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएको हो।
महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई विवरण हस्तान्तरण गरेका छन्।
केन्द्रीय कार्यसमितिको विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसमेत आयोगमा बुझाइएको छ।
गत बिहीबार शपथ ग्रहण समारोहपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो।
सोही निर्णयअनुसार पार्टीले नयाँ नेतृत्वको विवरण निर्वाचन आयोगमा पेस गरेको हो।




















