काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउन समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आन्तरिक प्रतिस्पर्धाका क्रममा देखिएका तिक्तता बिर्सेर सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भई अघि बढ्न आह्वान गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, मतदाता र शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् । उनले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको ठूलो पुँजीका रूपमा व्याख्या गर्दै सबैको सल्लाह र सुझावलाई आत्मसात् गरेर अघि बढ्ने बताएका छन् ।
महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न सन्देश दिएको उनको भनाइ छ । आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा लिँदै उनले भावनात्मक रूपमा समेत एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले भनेका छन् ।
कांग्रेसले विगतमा मुलुकका जटिल समस्या समाधान गर्न खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनले वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका, लोकतन्त्रको रक्षा र नागरिकका अपेक्षा सम्बोधन गर्ने जनमुखी तथा भरोसायोग्य राजनीतिक शक्तिका रूपमा अघि बढाउनु आवश्यक छ ।
पार्टीको ऐतिहासिक योगदानलाई सम्मान गर्दै वर्तमान समयको आवश्यकता र नागरिकको चाहनाअनुसार कांग्रेसलाई रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । यसका लागि पार्टीभित्र एकता कायम राख्दै जनताका दैनिक समस्या, जीविकोपार्जन र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
महामन्त्री पौडेलले महाधिवेशन सफल बनाउन अहोरात्र खटिने नेता, कार्यकर्ता तथा सबै सहयोगीप्रति पनि आभार व्यक्त गरेका छन् ।




















